फागुन १५ कञ्चनपुर । राष्ट्रिय गौरवको योजना कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर–१३ ओदाली र माहाकाली नगरपालिका वडा नम्बर–१ चाँदनीलाई जोडने महाकाली नदीमा निर्माणाधीन पक्की पुलको काम मापदण्ड विपरीत भईरहेको जनगुनासो आए पछि नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले पुलको अनुगमन गरेको छ ।
आईतबार नेकपाका केन्द्रीय सदस्य तथा महाकाली ब्युरो इन्चार्ज समर शाहीको नेतृत्वमा पार्टीका जिल्ला इन्चार्ज विष्णु प्रसाद उपाध्याय विराट लगायत अन्य नेता कार्यकर्ताहरु सहित गएको टोलीले पुलका योजना प्रमुख राम बहादुर गुरुङसंग भेटेर छलफल गर्नुका साथै भीमदत्त नगरपालिका वडा नम्बर १३ स्थित महाकाली नदीमा बनिरहेका पुलको स्थलगत अनुगमन गरेका हुन् ।
बन्दै गरेको महाकाली पुलको नक्सा बेला बेलामा बदल्दै गरेको, पुल निर्माणमा गुणस्तरीय सामग्री प्रयोग नगरेको , पुललाई दिर्घकालिन हुने गरी निर्माण नगरी काम चलाउ बनाउन लागेको , पुलमा स्तरीय काम नहुँदा नजिकका मानव बस्तीहरूमा क्षति हुने ठूलो सम्भावना रहेको जनस्तरबाट गुनासो आए पछि त्यसको वास्तविकता बुझ्न अनुगमन गरेको नेकपाका महाकाली ब्युरो इन्चार्ज समरले बताउनु भयो । निर्माणधिन उक्त पुलको विषयमा प्रारम्भिक चरणको भेटघाट गरेर योजना प्रमुख गुरुङलाई ध्यानाकर्षण सहित स्तरीय काम गर्न सुझाव दिएको बताउदै उनले अन्यथा पाटीे अनियमितताका विरुद्ध संघर्षमा जान बाध्य हुने बताउनु भयो ।
गुणस्तरहीन सामग्रीको प्रयोग गरी बन्दै गरेको महाकाली पुल अहिले बनिरहेको डिजाइन अनुसार पानीको बहाव थेग्न नसक्ने र उक्त पुल दिर्घकालिन समेत नहुने नेकपा कञ्चनपुरका इन्चार्ज विराटले बताए । पुलमा मजबुत र बलियो संरचना बनाएर नजिक बस्तीहरूमा वर्षाको समयमा बाढीका कारण हुने क्षतिलाई रोक्नुपर्ने समेत नेता विराटले बताए । त्यसैगरी पुल निर्माण योजना कार्यालयसंग डिपिआर र पुलको डिजाइन नक्सा समेत माग गरिएको र कार्यालयले केही दिनमा उपलब्ध गराउने उनले बताए ।
विभिन्न कानुनी जटिलताका कारण तिब्र गतिमा काम हुन नसकेको पुल योजनाका प्रमुख राम बहादुर गुरुङले बताए । उनले निर्माण कार्यमा कुनै पनि किसिमको अनियमितता नभएको बताउदै अहिले सम्म ८५ प्रतिशत काम सम्पन्न भईसकेको जानकारी गराए । ४ अर्ब २० करोड ८३ लाख ६३ हजार ७ सय ५ रुपियाँ लागत अनुमान गरिएको योजनामा २२ प्रतिशत घटीमा ३ अर्ब २७ करोड ९३ लाख ४ सय ९१ रुपियाँमा निर्माण कम्पनी कुमार सिएफइसी जेभीसंग ठेक्का सम्झौता भएको थियो ।
भीमदत्त नगरपालिका वडा नम्बर–१३ ओदाली र माहाकाली नगरपालिका वडा नम्बर–१ चाँदनीलाई जोडनेगरि निर्माणाधीन पक्की पुलको २०७४ भदौ ७ मा प्रधानमन्त्री शेरबहादुर देउवाले शिलान्यास गरेका थिए ।