धनगढी, उच्च अदालत दिपायलले आजदेखि भर्चुअल सुनुवाइ शुरू गरेको छ । तत्कालका लागि कैलाली जिल्लास्थित बार एसोसिएसनको कार्यालयमा उपस्थित भई पक्ष, विपक्ष र कानून व्यवसायी भर्चुअल रूपमा (अनलाइनमार्फत) इजलासमा सहभागी हुन पाउने भएका हुन् ।
यससँगै अब प्रदेश राजधानी धनगढीबाट झण्डै २ सय किलोमिटरको दूरी र ७ घण्टाको यात्रा पार गरी दिपायल पुग्नुपर्ने बाध्यता अन्त्य भएको उच्च अदालत दिपायलका प्रवक्ता नरबहादुर नेगीले बताए ।
आजबाट कैलाली जिल्लाका लागि मात्र भर्चुअल सुनुवाइ शुरू गरिएको छ । विस्तारै उच्च अदालत दिपायलअन्तर्गतका अन्य जिल्लाहरू बझाङ, बाजुरा, डोटी, अछाम समेतका सेवाग्राहीका लागि भर्चुअल सुनुवाइ विस्तार गरिने प्रवक्ता नेगीले जानकारी दिए । प्रदेश राजधानीबाट मुद्दा लिएर दिपायल पुग्नुपर्दा मुद्दाका पक्षलाई दोहोरो आर्थिक भार परिरहेको थियो ।
कानून व्यवसायीलाई तिर्नुपर्ने पारिश्रमिकबाहेक आतेजाते, बसोबास र खाना९खाजामा नै धेरै खर्च हुने गरेको थियो । प्रवक्ता नेगीका अनुसार हाल उच्च अदालत दिपायलमा दर्ता भएका १ हजार ५२ मुद्दामध्ये ९० प्रतिशत मुद्दा कैलाली जिल्ला अदालतबाट भएका फैसलाउपरका छन् ।
धनगढीबाटै भर्चुअलरूपमा इजलासमा सहभागी हुन पाउने भएपछि सेवाग्राहीलाई निकै राहत महशुस हुने विश्वास गरिएको छ ।