फागुन ०२ कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका झलारी बजारमा अबैध रुपकमा अस्पताल सञ्चालन भईरहेको पाईएको छ । सरकारी निकायबाट अनुमति नलिएर एक वर्ष देखि टी एण्ड सी अस्पताल अबैध रुपमा सञ्चालन भईरहेको पाईएको हो ।
सरकारी निकायबाट अनुमति नलिएर अस्पताल सञ्चालन हुँँदा समेत सरकारी निकाय मौन देखिएको छ । जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरमा अस्पताल दर्ताका लागि फाईल पेश भए पनि भवनको क्षेत्र, ओपीडी, पार्किङ, आफ्नै फोहरमैला व्यवस्थापन केन्द्र र निर्धारित बेडको व्यवस्थासँगै आवश्यक जनशक्तिको व्यवस्थापन नगर्दा अस्पताल दर्ता हुन सकेको छैन । स्वास्थ्य कार्यालयका अस्पताल दर्ता फाँटका कर्मचारी कपिल जोशीले टी एण्ड सी अस्पतालका सञ्चालकलाई न्यूनतम मापदण्ड पूरा गरेर मात्रै आउन भने पनि सञ्चालक सम्पर्कमा नआएको बताएका छन ।
‘अस्पतालको फाइल पेश गरेकै बेला न्यूनतम मापदण्ड पूरा गर्न भनेको बताउदै उनले फेरी सम्पर्कमै नआएको बताए । निश्चित प्रक्रिया पूरा नगरि अस्पताल सञ्चालनको अनुमति दिन नसकिने बताउदै उनले अस्पताल सञ्चालनका लागि आवश्यक मापदण्ड पूरा गरेपछि हुने अनुगमनका क्रममा सबै प्रक्रिया पूरा गरेको पाइए मात्रै सञ्चालनको अनुमति दिइने बताउनु भयो ।
जोशीले कम्पनी रजिष्ट्रारको कार्यालयमा अस्पताल दर्ता भए पनि अस्पताल सञ्चालनका लागि हाल सम्म अस्थायी अनुमति समेत नपाएको जानकारी गराए ।
टी एण्ड सी अस्पतालका संचालका तथा डाक्टर फुलराम चौधरीले अस्पताल दर्ता प्रक्रियामा रहेकोे बताउदै माथिल्लो निकायको नीति नियमका कारण अस्पताल दर्ता प्रक्रियामा ढिलाइ भएको बताए ।
जिल्ला स्वास्थ्य कार्यालयका कोही पनि पदाधिकारी अनुगमनमा नआएकाले अनुमति प्रक्रियामा ढिलाइ भएको उनले जानकारी गराए । अस्पतालको अनुगमनका लागि माथिल्लो निकायबाट अनुगमन गरिनु पर्ने बताउदै उनले हालसम्म कोही नआएकाले अस्पताल दर्ता प्रक्रियामा ढिलाइ भएको बताए । जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरका प्रमुख शिवराज सुनारले स्थानीय शासन सञ्चालन ऐन २०७४ मा १५ शैयासम्मको अस्पताल, क्लिनिक नगरपालिकाले दर्ता गर्ने र जनस्वास्थ्य सेवा ऐन २०७५ को नियमावली २०७६ ले २५ शैयासम्मको अस्पताल स्वास्थ्य कार्यालयले दर्ता गर्ने प्रावधान रहेको जानकारी गराउनु भयो । सञ्चालन अनुमति नलिई सञ्चान भएको अबैध अस्पतालले विरामीबाट उपचारको नाममा चर्को मूल्य असुल्दै आएको उपचारका लागि आउने विरामीहरुले गुनासो गरेका छन ।
सामान्य किसिमका विरामीलाई समेत शै्यामा भर्ना गराएर शुल्क लिने गरिएको उनिहरुले आरोप लगाएका छन । अस्पतालजन्य फोहर व्यवस्थापनको कार्य समेत सन्तोषजनक नभएको स्थानीयले बताएका छन ।