माघ २६ धनगढी । बुधवार सुदूरपश्चिम प्रदेशमा थप ८९ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १ हजार १ सय ४६ जनाको एन्टिजेन र ९५ जनाको पीसीआर परीक्षण गर्दा थप ८९ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको हो ।
बुधवार कोरोना संक्रमण पुष्टि भएका मध्ये २० जना भारतबाट फर्केका नागरिक रहेका स्वास्थ्य निर्देशनालय दीपायलले जनाएको छ । बुधवार सुदूरपश्चिमका नाकाबाट १ हजार १ सय ७६ जना स्वदेश फर्केको स्वास्थ्य निर्देशनालय दीपायलले जनाएको छ ।
प्रदेशमा कोरोना भाइरस संक्रमीतको संख्या २ हजार २ सय ७९ जना पुगेको स्वास्थ्य निर्देशनालय दीपायलले जनाएको छ । उनीहरु मध्ये ४७ जनाको मात्रै अस्पतालमा उपचार भइरहेको छ भने अन्य सबै होम आइसोलेसनमा रहेको स्वास्थ्य निर्देशनालय दीपायलले जनाएको छ । त्यसैगरी सेती प्रादेशिक अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ।
कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर –१६ का ७४ वर्षीय पुरुषको बुधबार बिहान मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार यही माघ १९ गतेदेखि अस्पतालको आईसीयूमा राखेर उनको उपचार भइरहेको थियो।