अब निको हुन्छ । खासै ठूलो समस्या छैन । केही त्यस्तो भएमा फेरि आउनुहोला ल !’ डाक्टर रञ्जितले भनेका थिए दुई महिनाअघि । त्यस दिन ऊ ढुक्क भएर अस्पतालबाट बिदा भएको थियो । घर फर्केको चार पाँच दिनदेखि नै उसलाई पेट दुख्न थाल्यो । क्रमशः व्यथा चर्कँदै गयो । यसअघि उसले कहिल्यै पनि त्यति ठूलो र नामी अस्पतालमा जाँच गराएको थिएन । उसको जीवनमा त्यो नै पहिलो शल्यक्रिया थियो । ढुक्क नहोस् पनि किन ? त्यो अस्पतालका नामी डाक्टरले उसको अपरेसन गरेका थिए । दाम पनि प्रशस्तै खर्च भएको थियो । उसका भरपर्दा मित्र र आफन्तले त्यही अस्पतालमा जाने सल्लाह दिएका थिए ।
पुग नपुग दुई महिनापछिको कुरा हो । ऊ फेरि त्यही अस्पतालमा भर्ना हुन पुग्यो । पेट ज्यादै दुखेको थियो । पीडाले ऊ छट्पटाइररहेको थियो । उसलाई जाँच्ने डाक्टर रञ्जित अहिले देखिएनन् । डा. सुबोधको पालो परेछ । भिडियो एक्सरेको रिपोट हेरेर डाक्टरले भने— “के पहिले पनि कतै चेक गराउनु भा’थ्यो ?” हो । सशङ्कित हुँदै उसले भन्यो— “किन र डाट्साप् ?” डाक्टरले उत्तर नदिई अर्को प्रश्न थप्यो— “कुन हस्पिटलमा चेक गर्नुभा’हो यहाँले ?” उसले लामा सास तानेर भन्यो— “यही अस्पतालमै हो तर किन ? भन्नोस् न डाट्साप् ?” डाक्टरको अनुहारको रोगन फेरिँदै गएको देखेर झन् सशङ्कित हँुदै उसले भन्यो—“भन्नोस् न के रिपोर्ट छ एक्सरेको ?” डाक्टरले हिम्मत झिकेर भन्यो— “तपाईंको त एउटा किड्नी नै छैन ।” ऊ रिसले आगो भएर भन्यो—“त्यसो भए यो अस्पतालमा कार्यरत सबै डाँकाटर हुन् ? मेरो अपरेसन गर्ने डा. रञ्जित खै ? उनीबाहेक मेरो मिर्गौला चोर्ने अरू कोही हैन । दुवै मिर्गौला झिकेर मारेको भए हुन्थेन ? यस्ता डाक्टर हुनुभन्दा त नहुनु नै वेश । थुइक्क डाँका ! तिमीहरू डाक्टर होइनौ, डाँकाटर हौ, डाँकाटर !”